नेपाल कोरोना भाइरसः थप १३ सय ४३ जनामा सङ्क्रमण, १३ जनाको मृत्यु

तस्बिर स्रोत, EPA
नेपालमा विगत २४ घण्टामा १,३४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
झन्डै ९,३०० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
सो अवधिमा १३ जनाको कोभिड-१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २,३७,५०० नाघेको छ।
तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ।
मन्त्रालयले बिहीवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १५,७६६ जनामा सक्रिय सङ्क्रमण छ।
मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १,५५१ सङ्क्रमितको मृत्यु भएको छ।
काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।
को हुन् सङ्क्रमित?
अहिले विभिन्न जिल्लामा सङ्क्रमित फेला परेका हुन्। तीमध्ये ५३४ महिला र ८०९ पुरुष छन्।
अहिले काठमाण्डूमा उपत्यकामा ५६१ सङ्क्रमित भेटिएका हुन्।
काठमाण्डूमा ६,३३७ जना सहित उपत्यकामा ८,१९८ जना निको हुन बाँकी सङ्क्रमित छन्।
देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये १०,२७१ जना घरमै एकान्तवासमा भएको मन्त्रालयले जनाएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
कति जना निको भए?
मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,१११ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।
अहिलेसम्म कुल दुई लाख २,२०,२७२ सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ।
अर्थात् नेपालमा सङ्क्रमित निको हुने दर ९२ प्रतिशतभन्दा बढी छ।
गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।
अरू तथ्याङ्क के छ?
पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.५ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।
पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६५ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च भएको तथ्याङ्कले देखाउँछ।
देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३८८ जना सघन उपचार कक्षमा र ६५ जना भेन्टिलेटरमा छन्।