कोरोना भाइरस नेपाल: थप १३ सय जनामा सङ्क्रमण, २१ जनाको मृत्यु

नयाँ कोरोनाभाइरस

विगत २४ घण्टामा नेपालभरि १,३०४ मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

मन्त्रालयका अनुसार ८,५८३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा २१ जनाको कोभिड-१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ३३ हजार नाघेको छ।

मन्त्रालयले मङ्गलवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १६,६३३ जनामा सक्रिय सङ्क्रमण छ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १,५२९ सङ्क्रमितको मृत्यु भएको छ।

काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।

मङ्गलवार सङ्क्रमितमध्ये काठमाण्डूका ४०९, ललितपुरका ८५ र भक्तपुरका ३६ रहेका छन्।

कास्कीका १००, झापाका ६८, मोरङका ६१, सुनसरीका ५२ र रुपन्देहीका ४५ जनामा पनि सङ्क्रमण पुष्टि भएको हो।

कति जना निको भए?

मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,०७३ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।

अहिलेसम्म कुल दुई लाख १६ हजार ५९४ जना सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ।

अर्थात् नेपालमा सङ्क्रमित निको हुने दर ९२ प्रतिशतभन्दा बढी छ।

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

अरू तथ्याङ्क के छ?

पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १५ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।

पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च भएको तथ्याङ्कले देखाउँछ।