भेनेजुएला: मासिक १.३ डलरमा जीवन कसरी चल्दो हो

नोर्मा

सन् १९८० मा नोर्मा मुहिकाका लागि बुढेसकाल टाढा थियो।

“म २७ वर्षकी थिएँ। मेरो विवाह भएको थियो र म डिस्कोमा मेरा श्रीमान्‌सँग साल्सा नृत्य गर्थेँ। हामी ओस्कर डे लिओन र सिलिया क्रुजलाई एकदमै मन पराउँथ्यौँ,” राजधानी काराकसको आफ्नो युवाकालीन दिनहरू सम्झँदै उनले भनिन्।

“कहिले हामी रेष्टुराँमा चिनियाँ खानेकुरा खान्थ्यौँ भने सप्ताहान्तमा हामी समुद्रको तटमा हिँड्न जान्थ्यौँ।”

तर अहिले ६७ वर्ष पुगेकी नोर्माका दिनहरू फरक ढङ्गले बितिरहेका छन्।

भेनेजुएलाको मुद्रा बोलिभारको मूल्य निरन्तर रूपमा घट्दै जाँदा विगतमा मासिक १७२ डलर रहेको उनको पेन्सन अहिले घटेर जम्मा एक दशमलव तीन डलर अर्थात्‌ करिब डेढ सय रुपैयाँ भएको छ।

मध्यमस्तरको उनको जस्ताको छानो सहितको घर खाल्टाखुल्टी सहितको भिरालो बाटोको टुप्पोमा छ।

कोठामा रहेका फर्निचर टुटेफुटेका अनि पर्दा र ईसामसिहको पोस्टर थोत्रा देखिए पनि भुइँ एकदमै सफा देखिन्छ।

त्यहाँ एउटा पुरानो वाशिङ्ग मसिन र एउटा ग्यास कुकर पनि छ।

ड्रमको आवाजसहित हुर्किएकी नोर्मा

सानो प्लास्टिकको कुर्सीमा बसेकी नोर्माले थोत्रोजस्तो देखिने गाउन र नक्कली क्रक्स जुत्तामा ऊनको मोजा लगाएकी छन्।

जन्मिएदेखि नै उनी काराकसको बाहिरी क्षेत्रमा रहेको यही गरीब इलाकामा बसिरहेकी छन्।

“मेरा बुवाले अर्केस्ट्रेमा एक प्रकारको ड्रम बजाउनुहुन्थ्यो। यहाँ साल्सा र मरन्गे एकदमै जम्थ्यो।”

“मेरो श्रीमान्‌सँग मिलेर मैले यो सानो घर किनेँ र थोरैथोरै गरी हामीले बालुवा र सिमेन्टको यो घर बनायौँ। जब म ४० वर्ष पुगेँ भगवानले मेरो प्रार्थना सुन्नुभयो र हाम्रो एक मात्र छोराको जन्म भयो।”

आफ्ना श्रीमान्‌ एउटा ब्याङ्कमा आइटी प्रणाली हेर्ने सहायक रहेको र आफू शिक्षा मन्त्रालयको सामाजिक कल्याण विभागमा १९ वर्षको उमेरदेखि काम गरेको उनी बताउँछिन्।

“मैले कार्यलय सचिवदेखि सहायक सबै भूमिका निर्वाह गरेँ। मेरो काम बिहान ९ बजे सुरु भएर राति ९ बजे सकिन्थ्यो।”

बिरामी

सन् २००० मा काम गरिरहेको समयमा नोर्मालाई ‘स्ट्रोक’ भयो। उनी भन्छिन्, “मेरो ब्लड प्रेसर ज्यादै बढ्यो र म भुइँमा नराम्ररी बजारिएँ।”

अन्तत: उनी ठिक भइन्। उनको आवाज फर्कियो र उनी हिँडन सक्ने भइन्।

तर उनी फेरि काम गर्न सक्दिनन्। अपाङ्गताका कारण तोकिएको समयभन्दा अगावै सन् २००० मा उनले अवकाश लिइन्।

त्यसबेला नोर्माको पेन्सन मासिक १७२ अमेरिकी डलर थियो जसबाट उनका सबै आधारभूत आवश्यकता पूरा हुन्थ्यो।

“म पर्याप्त खानाका लागि पैसा तिर्न सक्थेँ। फोनको बिल र औषधि किन्नसक्थेँ। त्यसबाहेक मेरा श्रीमान्‌ले काम गरिरहेकै थिए।“

तर जब नोर्माका श्रीमान्‌को सन् २०१५ मा मृत्यु भयो, पेन्सननै उनको एकमात्रै आधार बन्यो।

पेन्सन प्रणाली ध्वस्त

अरू देशहरूमा जस्तै भेनेजुएलामा पनि पेन्सन प्रणाली देशका कर्मचारीहरूले आफ्नो तलबको निश्चित प्रतिशत जम्मा गरेर त्यसबाटै निवृत्तिभरण उपलब्ध गराउने विधिमा आधारित छ।

तर धेरै कामदारहरू विशेषगरी एकदमै योग्य कर्मचारीहरूले देश छाडेका छन् र औसत ज्याला कम भएको छ। अधिकांश रोजगारी अनौपचारिक क्षेत्रमा भएकाले त्यसबाट पेन्सनमा कुनै योगदान पुग्दैन।

भेनेजुएलाको सरकारमाथि ४५ लाख नागरिकलाई पेन्सन उपलब्ध गराउने जिम्मेवारी छ तर त्यसका लागि सरकारले धेरै चुनौतीहरूको सामना गरिरहेको छ।

तस्बिरको क्याप्शन,

राष्ट्रपति निकोलास मडुरो

देशको मूल आम्दानीको स्रोत तेल भए पनि त्यसको उत्पादनमा सन् २०१७ यता ठूलो परिमाणमा कमी आएको छ। भेनेजुएला कमाउने प्रत्येक १० डलरमा नौ डलर तेलबाट आउने गर्छ।

पछिल्लो तीन वर्षमा केन्द्रीय ब्याङ्कले अमेरिकी डलरको आपूर्तिमा कडाइ गरेको छ जसका कारण डलरको मूल्य आकाशिएको छ भने पेन्सन र बोलिभार दुवैको मूल्य घटेको छ।

यसबाट ज्येष्ठ नागरिकहरूको जीवनस्तर थप कष्टकर बनेको छ।

थोरैमा बाँच्दाको अनुभव

बोलिभारको मूल्य घट्दा नोर्माको पेन्सन अहिले मासिक १ दशमलब ३ अमेरिकी डलर प्रतिमहिना रहेको छ। त्यसबाहेक उनले आर्थिक सङ्कटका कारण परिरहेको प्रभाव कम गर्न सरकारबाट केही बोनस प्राप्त गर्ने गर्छिन्।

सबै जोड्दा उनले मासिक पाँच डलर प्राप्त गर्छिन जुन एक किलो मासु किन्न पर्याप्त हुन्छ।

तर नोर्माको प्राथमिकता मासु होइन। बरू उनले दैनिक खानुपर्ने ब्लड प्रेसरको औषधि हो।

आधारभूत औषधिहरू राज्यले नै उपलब्ध गराउने गरे पनि बर्खायाममा समयमा नै औषधिहरू पाउन गाह्रो हुने भएकाले उनी त्यसका लागि रकम जोगाउँछिन्।

“मैले पाउने थोरै रकम पनि म जोगाउँछु किनभने त्यो मलाई औषधि किन्न चाहिन्छ। एकैचोटि एक बक्सा औषधि किन्न नसके पनि २० वटा चक्की रहेको आधा बक्सा म खरिद गर्न सक्छु।”

चिकित्सकहरूले जोखिम नहोस् भन्नका लागि कहिल्यै पनि ओखति नछाड्न आफूलाई सुझाव दिएको उनी बताउँछिन्।

एकदमै कम खाना

नोर्माको खुराक कम आय भएकाहरूलाई राज्यले उपलब्ध गराउने खानेकुराको बाकसमा पूर्ण रूपमा निर्भर हुन्छ।

“त्यो बाकस प्रत्येक डेढ महिनामा आउँछ। अन्तिम पटकको बाकसमा डेढ किलो चामल, ब्रेड बनाउन मिल्ने दुई प्याकेट मैदा, दुई किलो पास्ता, चनाका केही प्याकेटहरू र कफी थियो। यसपालि त्यसमा चिनी थिएन।”

“आज म बिहानको खाजामा अरूले दिएको सानो पाउरोटी, कफी र अण्डा खाइरहेकी छु। दिउँसो चामल र चना अनि राति पनि चना खानेछु।”

“मैले मासु वा दूध नखाएको धेरै भयो। मैले बुढेसकालमा भोकै बस्नुपर्ला भनेर सोचेकी थिइनँ। म मात्रै होइन मेरो छिमेकका धेरै मानिसको अवस्था यस्तै छ।”

अहिले २५ वर्ष पुगेका आफ्ना छोरा मद्दत गर्न सक्ने अवस्थामा नरहेको नोर्मा बताउँछिन्।

“उसको विवाह भएको छ र दुईजना बच्चा छन्। केही समय पहिलेसम्म उसले एउटा रेष्टुराँमा न्यूनतम ज्याला कमाइरहेको थियो तर महामारीले त्यो पनि सकियो। अहिले श्रीमतीसँग मिलेर उसले केक बनाउने गर्छ।”

कम बिजुली र पहेँलो पानी

घरमा चाहिने सामानहरू किन्न सक्ने भएकै समयदेखि नोर्मा अहिले पनि काम गरिरहेको पुरानो वाशिङ्ग मसिन, फ्रिज र टेलिभिजनलाई एकदम जतन गर्छिन्। तर भोल्टेज घट बढ हुँदा वा नियमित रूपमा बिजुली जाँदा ती सामान बिग्रने उनको चिन्ता छ।

“त्यही कारणले माइक्रोवेभ बिग्रियो। अब अर्को किन्नसक्ने क्षमता छैन,“ उनले भनिन्।

उनको छिमेकमा विद्युत् आपूर्तिसम्बन्धी मात्रै समस्या होइन। “प्रत्येक हप्तामा दुई दिन पानी आउँदैन। जब मेरा श्रीमान्‌ जीवित थिए उनले प्लास्टिकको ट्याङ्की ल्याइदिएका थिए जुन अहिले पनि घरमा छ। तर पानी पहेँलो आउने भएकाले उमाल्नुपर्छ।”

नोर्मा राजनीतिक मुद्दाहरू बारेको प्रश्न छल्न चाहन्छिन्। उनले पूर्वराष्ट्रपति चाभेजलाई समर्थन रहेको या नगरेको खुलेर बताइनन् र आगामी डिसेम्बरमा हुने संसदीय चुनावमा मत हाल्छिन् कि हाल्दिनन् पनि खुलाइनन्।

आफूले आशा मारेको सङ्केत गर्दै उनले भनिन्, “मलाई केही राम्रो होला भन्ने लाग्दैन। सबै कुरा सधैँ खराब भइरहेको छ।”