कोरोना भाइरस नेपाल: थप ५७० जनालाई सङ्क्रमण, १४ जनाको मृत्यु

स्वाब सङ्कलन

नेपालमा विगत २४ घण्टामा ५७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

भदौ महिनायताकै यस्तो न्यून सङ्ख्या पछिल्ला केही महिनामा गरिएको कम पीसीआर परीक्षणमाझ देखिएको हो।

उक्त अवधिमा कोभिड-१९ कारण १४ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले मङ्गलवार अपराह्ण सार्वजनिक गरेको विवरणमा जनाइएको छ।

योसँगै नेपालमा कोभिड-१९का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८७६ पुगेको छ।

नेपालमा कुल १ लाख ६० हजार ४०० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो अवधिमा २,७२५ वटा पीसीआर परीक्षण भएको थियो।

त्यसैगरी यो अवधिमा ३,१६८ जना निको भएका छन्। निको हुने प्रतिशत ७४.१ छ।

'सङ्क्रमण कम भएको होइन'

जाँचका लागि गएका व्यक्तिहरूमध्ये २० प्रतिसत जति सङ्क्रमित पाइनु अझै जोखिमको उच्च अवस्था कायम रहेको अवस्थाका रूपमा बुझ्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

डा जागेश्वर गौतमले भने: "हिजो दशैँको टिकाको दिन भएर नमूना सङ्कलन केही कम भयो, कतिपय प्रयोगशाला बन्द समेत भए। कम जाँच भएकैले कम पोजिटिभ देखिएको हो।"

नेपालमा एकैदिन सबैभन्दा धेरै ५ हजार सात सय बढी सङ्क्रमित पुष्टि हुँदा समेत परीक्षणको तुलनामा त्यो २८ प्रतिसतमा भाइरस देखिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक?

गत भदौ २४ देखि प्रत्येक दिन एक हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित भएका थिए।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्दा पीसीआर परीक्षण बढी गरिएको दिन सङ्क्रमित पनि धेरै फेला पर्ने गरेका छन्।

अरू तथ्याङ्क के छ?

यस अवधिमा काठमाण्डू उपत्यकामा २५२ सङ्क्रमित फेला परेका छन्।

यतिखेर काठमाण्डु उपत्यकाका तिनवटा सहित १६ जिल्लामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमितहरू रहेको मन्त्रालयको विवरणमा जनाइएको छ।

नेपालमा अहिले ४०,६८१ जनामा सक्रिय सङ्क्रमण छ।

त्यस्तै एक लाख १८ हजार ८४३ मानिसहरू सङ्क्रमण मुक्त भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयको वेबसाइट अनुसार नेपालमा हालसम्म १४ लाख ६९४ वटा पीसीआर परीक्षण गरिएको छ।

हाल देशभरि २,९३२ जना क्वारन्टीनमा रहेका छन्।