कर्णाली दशैँः 'उहिले टीकाको बेला केटाकेटीको हात बाँधिदिन्थे', अब महिनौँअघि चामलको जोहो गर्नुपर्दैन

  • प्रकाश पन्त
  • बीबीसी न्यूज नेपाली
तस्बिरको क्याप्शन,

यातायातको सुविधा पुगेपछि गाउँगाउँमा चामल र अन्य खाद्यान्न सजिलै पुग्न थालेका छन्

चामल नपाउँदा कुनै बेला कर्णालीका गाउँघरमा दशैँमा चामलको साटो चिनोको टीका बनाएर लगाइन्थ्यो ।

खासै धान खेती नहुने क्षेत्रका मानिसले चिनोकै भात खाने र चिनोकै टीका लगाउने चलन थियो।

डोल्पा, जुम्ला, मुगु, कालीकोटजस्ता जिल्लाका हुनेखाने मानिसले बाँके, बर्दिया वा सुर्खेततिरबाट भारी बोकाएर चाडपर्वका लागि चामल ल्याउँथे।

तर अहिले परिस्थिति फेरिएको छ। गाउँघरमै सजिलै चामल पाइन्छ।

दुर्लभ चामल

कतैबाट ऐँचोपैँचो गरी ल्याएको चामललाई दुर्लभ वस्तुकै रूपमा दशैँमा टीका बनाएर लगाउने गरेको कालीकोटका हंसबहादुर मल्ल सम्झिन्छन् ।

चामल यतिसम्म दुर्लभ थियो कि टीका लगाइदिँदा अक्षता नखाऊन् भनेर कतैकतै केटाकेटीको हात पनि बाँधिदिने गरेको बूढापाकाहरू सुनाउँछन्।

मल्ल आफूले पनि त्यो कुरा सुनेको बताउँछन्।

तर अहिले यातायातको सुविधाले गर्दा कर्णालीका गाउँबस्तीमा यस्तो अवस्था छैन। अहिले गाउँहरूले पनि आफैँ धान खेती गर्न थालेका छन्।

"पहिलाको जस्तो छैन," जुम्लाको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहरा भन्छन्, "अहिले गाउँगाउँमा सडक पुगेपछि चामल सजिलै पाइन्छ।"

झन्डै ३० वर्षअघि पातारासी गाविसको अध्यक्ष हुँदा अधिकांश जनता चामलको सिफारिस माग्ने आउने गरेकोमा अहिले त्यो अवस्था नरहेको बोहरा बताउँछन् ।

तस्बिरको क्याप्शन,

पहिला चामल नपाउँदा चिनोको टीका लगाउने चलन थियो

अन्नपात कम उत्पादन हुने र बर्सेनि भोकमारीले सताउने कर्णालीका गाउँमा सडक नपुगेको बेलासम्म भने सरकारले हवाईमार्गबाट ढुवानी गरेर चामलको आवश्यकता पूरा गर्दै आएको थियो ।

अहिले महत्त्व घट्यो

तर गाउँगाउँमा सडक पुगेपछि ३०-४० वर्षअघि चामलको जुन महत्त्व थियो, त्यो अहिले घटेको उनको धारणा छ।

चामल नपाउँदा चिनोको टीका बनाएर धेरै वर्ष दशैँ मनाएकी डोल्पाकी शोभा शाही जहाज चल्न थालेपछि केही कम भएको चामलको समस्या सडक पुगेसँगै अन्त्य भएको बताउँछिन्।

"पहिले हुनेखानेले बाहिरबाट जाक्नामा चामल ल्याएर गाउँलेलाई विक्री गर्ने र ऐँचोपैँचौ दिने गर्थे," उनी भन्छिन्, "अहिले पैसा भए जुन भन्यो त्यही चामल घरमै पुग्छ।"

सडकसँगै कर्णालीका अधिकांश गाउँमा खाद्यान्न पसल र डिपो पुगेकोले चामल पाउन खासै समस्या नभएको सर्वसाधारण बताउँछन्।

चामलको अभावमा बाउबाजेको पालामा जस्तो हात बाँधेर दशैँको टीका लगाउनुपर्ने बाध्यताबाट मुक्ति पाइएको उनीहरूको भनाइ छ ।

त्यतिबेला बारीमै उत्पादन हुने चिनो-कागुनोबाट चामलको आवश्यकता पूरा गर्दै आएका मानिसहरू यातायात सुविधाले घरआगँनमै चामल आउन थालेपछि कसैको दैलो चहार्नु नपरेको सुनाउँछन्।

दशैँको लागि जोहो

कर्णालीका कतिपय गाउँलेले दशैँका लागि भनेर महिनौँ पहिलेदेखि नै चामलको जोहो गरी राख्ने चलन थियो ।

तर अहिले जतिबेला पनि चामल पाइने थालेपछि त्यस्तो चलन हटेको जुफाल डोल्पाका कुमार शाही बताउँछन् ।

सडक नपुग्दासम्म बर्सेनि खाद्यान्न सङ्कटबारे चर्चा भइरहने कर्णालीका गाउँबस्तीबाट अहिले त्यस्तो खबर हतपत आउँदैन।

आर्थिक, सामाजिक र राजनीतिकसँगै पछिल्लो समय सर्वसाधारण मानिसको जीवनशैलीमा पनि सुधार आएको देख्न सकिन्छ ।

कामको सिलसिलामा भारत वा अन्य देश जाने, गाउँमै पनि केही इलम गरेर बस्ने चलन बढ्न थालेपछि कर्णालीवासीको क्रयशक्ति पनि बढ्दै गएको पाइन्छ।

दुर्गम गाउँबस्तीहरू सडक सञ्जालमा जोडिएपछि भातको लागि पहिलाको जस्तो चाडपर्व नै पर्खिनुपर्ने अवस्था हटेको उनीहरू बताउँछन्।

चामल ढुवानीको लागि भरिया, घोडा, खच्चडको भर पर्नुपर्ने र थाप्लोमा भारी बोकेर पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ।

घोडा, खच्चड र मान्छेले बोकेर ल्याएकोभन्दा यातायातका साधनबाट ढुवानी गरेको चामल सस्तो पर्छ।