भूकम्प पुनर्निर्माण नेपाल: पुनर्निर्माणका क्रममा मौलिकता जोगाउन नसकिएको चिन्ता

विनाशकारी भूकम्प गएको साढे पाँच वर्ष पुग्दै गर्दा त्यतिखेर ध्वस्त भएका झन्डै आठ लाख निजी घरहरूमध्ये नब्बे प्रतिशतभन्दा धेरैको पुनर्निर्माण सम्पन्न हुन लागेको अधिकारीहरूले बताएका छन्।

यो अवधिमा करिब पाँच खर्ब रुपैयाँको विशाल धनराशीको खर्च भएको पुनर्निर्माण अन्तिम चरणमा पुग्दै गर्दा अब तिनको गुणस्तर र प्रभावबारे लेखाजोखा गर्ने समय आएको विज्ञहरू ठान्छन्।

कस्तो रह्यो पुनर्निर्माण

भूकम्पलगत्तै गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा पुनर्निर्माणको उद्देश्य बिल्ड ब्याक बेटर अर्थात् थप बलियो र राम्रो पुनर्निर्माण हुने बताइएको थियो।

तर के उक्त उद्देश्य प्राप्त भयो त?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी गोविन्दराज पोखरेल यसको उत्तर मिश्रित भएको ठान्छन्।

"भूकम्पीय जोखिम थेग्छ कि थेग्दैन भन्ने सवालमा पुनर्निर्माण गरिएका घरहरू निश्चय पनि थप बलिया छन्। कम्तीमा एकदम ठूलो भूकम्प आयो भने ज्यान जोगाउन सक्ने समय ती संरचनाले दिन्छन्। तर अर्को पाटोमा भने हामी चुकेको जस्तो लाग्छ," उनले भने।

मौलिकता हराएको चिन्ता

नेपाल उसै पनि गाउँले भरिएको देश हो र ती गाउँका मौलिकता नै नेपालको पहिचान रहँदै आएको छ।

त्यस्तो मौलिकता धर्मसंस्कृति र रहनसहनमा मात्र होइन बस्तीमा पनि झल्कन्छ।

तर पुराना परम्परागत शैलीका घरहरू भने अब विस्थापित हुँदै गएको पोखरेलको चिन्ता छ।

"चाहे अर्घाखाँचीतिरका मौलिक वस्ती हुन् वा तामाङ्शैलीका घरहरू हुन्, पुनर्निर्माणका बेला तिनलाई जोगाउन सकिएन। सबैले सिमेन्ट र कङ्क्रिटको एकै खालका घर बनाउन नै रुचि देखाए। सरकार र प्राधिकरणले यसमा जनतालाई सुरक्षित र मौलिक विकल्प दिन नै सकेन," उनको चिन्ता छ।

उनीसँग पुनर्निर्माणको गुणस्तर, आम चेतना र अभ्यास, मौलिकताको विस्थापन, एकीकृत बस्तीजस्ता विषयमा गरिएको विस्तृत कुराकानी सुन्न माथिको लिङ्कमा थिच्नुहोस्।