दशैँः बलि दिइएका पशुको मुक्तिका लागि बौद्धमार्गीहरूको निराहार मौनव्रत

  • शक्तिमाया तामाङ
  • बीबीसी न्यूज नेपाली, नुवाकोट
तस्बिरको क्याप्शन,

फाइल तस्बिर

दशैँका बेला धेरै हिन्दू धर्मावलम्बीहरूले पशुबलि दिन्छन् भने बौद्ध धर्मावलम्बीहरू मानिसको हातबाट मारिएका पशुपक्षीको मुक्तिको प्रार्थना गर्छन्।

कोरोनाभाइरस महामारी फैलिएको भए पनि आफ्नो परम्परालाई निरन्तरता दिन हिमाली मूलका बौद्धमार्गीहरू सामाजिक दूरी कायम गरेरै शुक्रवार फूलपातीदेखि चार दिनका एउटा विशेष धार्मिक अनुष्ठानमा बसेका छन्।

'ञ्युङ्ने' भनिने यो अनुष्ठानमा निराहार मौनव्रत पनि पर्छ।

बूढापाका तथा धर्मगुरुहरूका अनुसार हिंसक मानिको मनमा बोधिचित्त एवम् करुणा उत्पन्न होओस् र सबै प्राणीको उद्धार एवम् मुक्तिको लागि विभिन्न समयमा त्यस्तो व्रत बसिन्छ।

कहाँ बसिन्छ यो व्रत?

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिका अनुसार नेपालभरि २,८७४ वटा गुम्बा छन्। तर यस वर्ष कोरोनाभाइरस महामारीका कारण केही स्थानमा मात्र सामूहिक मौनव्रत सञ्चालन हुँदैछ।

अन्य गुम्बामा पूजापाठ मात्र गर्ने नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्तिचक्र सङ्घ केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामाले बताए।

उनका अनुसार सबै गुम्बामा ञ्युङ्ने राख्दा सङ्क्रमणको जोखिम बढ्ने हुँदा केही स्थानमा मात्र स्थानीय बासिन्दा सहभागी हुनेगरी उक्त धार्मिक अनुष्ठान गर्न लागिएको हो।

नौ वर्षअघि गरिएको जनगणनामा नेपालमा बौद्ध धर्मालम्बीहरूको जनसङ्ख्या नौ प्रतिशत देखिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

दशैँमा पनि चङ्गा उडेनन्

व्रतालुले के गर्छन्?

चार दिनसम्म चल्ने यो अनुष्ठानमा व्रतालुहरू गुम्बामै बसेर मन्त्र पाठ तथा जप गर्छन्। यो व्रतमा उनीहरू एक दिन-एक रात कसैसँग नबोली निराहार बस्छन्।

"दशैँ तथा अन्य चाडपर्व मान्ने नाममा धेरै प्राणीले अकालमा ज्यान गुमाउँछन्। ती प्राणी अर्काको हातबाट मर्न बाध्य हुन्छ्न्," महासचिव प्रेम दोर्जे बल लामाले भने, "तीनिर्दोष प्राणीको आत्माको चिर शान्त तथा मुक्तिको कामना गर्दै गुम्बामा न्युङ्ने अर्थात् मौनव्रत बस्ने परम्परा छ।"

त्यसो गर्दा अन्य प्राणीको हत्या गर्ने मानिसले पनि 'सबै जीवको एउटै प्राण हो, उनीहरूलार्इ माया गर्नुपर्छ - हत्या गर्नुहुँदैन' भन्ने भाव उत्पन्न होस् भन्ने कामना गरिने उनको भनाइ छ।

ञ्युङ्ने सञ्चालन गरिएको स्थानमा व्रतालुहरू शुद्ध भएर लामा गुरुबाट पञ्चशील, अष्टशील लिन्छन्।

प्रेम, त्याग, करुणा र आनन्दको अनुभूति हुने भएकाले आफू पनि प्रत्येक वर्ष त्यस्तो अनुष्ठानमा सहभागी हुने गरेको नुवाकोटका आइसिंह तामाङ बताउँछन्।

"हामीले आफूलाई जत्ति माया गर्छौँ, त्यत्ति नै अन्य प्राणीले पनि आफ्नो ज्यानको माया गर्ने कुरा नबुज्दा हत्याहिंसा बढेको हो," उनले भने, "अन्य प्राणीले आफ्नो पीडा व्यक्त गर्न सक्दैनन्। त्यसरी आफ्नो पीडा र समस्या व्यक्त गर्न नसक्दा वा नपाउँदा कस्तो हुन्छ भन्ने अनुभूति गर्नु र सबै प्राणीको मुक्तिका लागि मौनव्रत बस्ने गरेको हुँ।"

नुवाकोट बुङ्ताङकी कन्याकुमारी तामाङको धारणा पनि त्यस्तै छ।

"व्रत बस्दा मनमा आनन्दको अनुभूति हुने र नजानीकनै गरिएका विभिन्न पापकर्मबाट मुक्त हुने धार्मिक विश्वास छ," उनले भनिन्।

तस्बिरको क्याप्शन,

जनगणनामा नेपालमा बौद्ध धर्मालम्बीको जनसङ्ख्या नौ प्रतिशत देखिन्छ

कोरोनाभाइरसको प्रभाव कस्तो?

विदुर नगरपालिका कोलनीमा बसोबास गर्ने प्रेममाया तामाङ प्रत्येक वर्ष ञ्युङ्ने बस्थिन्।

तर यसपालि भने आफू सामूहिक अनुष्ठानमा सहभागी नहुने उनी बताउँछिन्।

कोरोनाभाइरसको जोखिम बढेकाले यस वर्ष गुम्बामा गएर सामान्य पूजापाठ मात्र गर्ने उनको योजना छ।

"ञ्युङ्ने बस्न विभिन्न ठाउँबाट मानिसहरू आउने हुँदा सङ्क्रमणको जोखिम बढ्ने भएकाले यस गुम्बामा मौनव्रतको कार्यक्रम राखिएन, तर गुम्बाको नियमित पूजापाठ भने मानिसहरूको भिडभाड नगरी गर्ने हो," उनले भनिन्।

ञ्युङ्ने गर्न भेला हुने व्रतालुहरूले पनि मास्क लगाउने तथा भिड नगरी दूरी कायम गर्ने गुम्बा विकास समितिले बताएको छ।

यो अनुष्ठानमा के गरिन्छ?

सबै उमेरका महिला र पुरूषहरूले ञ्युङ्ने बस्न पाउँछन्।

फूलपातीको दिन बेलुका गुरुबाट शील ग्रहण गरेपछि यो अनुष्ठान विधिवत् आरम्भ हुन्छ।

महाष्टमीको अष्टशील ग्रहण र प्रवचन हुन्छ भने महानवमीको दिन निराहार मौनव्रत सुरु हुन्छ।

दशमीको दिन लामागुरुले अभिषेक गरिसकेपछि यो अनुष्ठान समापन हुन्छ।