कोरोना भाइरस उपचार: वैज्ञानिक भन्छन् - 'खोप प्रभावकारी भए पनि जनजीवन सामान्य बन्न लामो समय लाग्न सक्छ'
- जेम्स ग्यालहर
- स्वास्थ्य तथा विज्ञान संवाददाता
तस्बिर स्रोत, Reuters
कोरोनाभाइरस विरुद्ध प्रभावकारी हुने खोपले समेत आगामी वसन्त ऋतुमा पनि जनजीवन सामान्य नबनाउने यूकेका वैज्ञानिकहरूको एउटा समूहले चेतावनी दिएको छ।
खोपलाई प्राय: कोरोनाभाइरस महामारी अन्त्य गर्ने अचुक उपाय मान्ने गरिएको छ।
तर ब्रिटेनको रोयल सोसाइटीका वैज्ञानिकहरूले संयुक्त रूपमा तयार पारेको एउटा प्रतिवेदनले कस्तो खोप कहिले उपलब्ध हुन्छ भन्नेबारे "हामी यथार्थवादी हुनुपर्ने" बताएको छ।
उनीहरूले खोप आउन एक वर्ष लाग्नसक्ने भएकाले त्यसपछि प्रतिबन्धहरूलाई विस्तारै खुकुलो पार्नुपर्ने हुनसक्ने बताएका छन्।
कति खोप बन्दैछन्?
कोरोनाभाइरसविरुद्ध विश्वभरि हाल २०० जति खोपहरू विकास हुने क्रममा रहेका छन्। ती खोपहरू अत्यन्तै तीव्र गतिमा विकास र परीक्षण भइरहेका छन्।
इम्पेरियल कलेज लण्डनस्थित न्याशनल हार्ट एन्ड लङ् इन्स्टिट्युटकी फियोना कली भन्छिन्, "खोपले सम्भवत: महामारी अन्त्य गर्नेछ भन्ने ठूलो आशा दिएको छ तर हामीलाई के थाहा छ भने विगतमा खोप विकास गर्दा कैयौँ असफलता हात लागेका छन्।"
यूके सरकारका विज्ञान सल्लाहकारसहित कैयौँलाई यो वर्षभित्रै केहीका लागि र अर्को वर्षको सुरुवात्बाट आम रूपमा नै खोप उपलब्ध हुनसक्ने आशा छ।
यद्यपि रोयल सोसाइटीले भने यो लामो प्रक्रिया हुने चेतावनी दिएको छ।
इम्पेरियल कलेज लन्डनका केमिकल इन्जिनियरिङ विभागका प्रमुख प्राध्यापक निलय शाह भन्छन्, "जब खोप उपलब्ध हुन्छ त्यसपछि पनि एकै महिनामा सबैले खोप पाउँछन् भन्ने छैन, हामी ६ महिना वा ९ महिना भनिरहेका छैनौँ… एक वर्ष भनिरहेका छौँ।"
"अनि आगामी मार्चमा नै जीवन सहज र सामान्य अवस्थामा फर्कन्छ भन्ने प्रश्नै उठ्दैन नि!"
उक्त प्रतिवेदन अनुसार अझै अगाडि निकै धेरै चुनौतीहरू छन्।
नयाँ प्रयोग
कोरोनाभाइरसको खोप बनाउन कतिपय नयाँ खाले खोजी पनि भएका छन्। जस्तो पहिले आम रूपमा उत्पादन नगरिएको आरएनए खोपबारे पनि अनुसन्धान भएको छ।
त्यस्तै खोप होस् वा खोप राख्ने 'ग्लास भाइल्स' दुवैका लागि कच्चा पदार्थहरूको उपलब्धताका बारेमा पनि चिन्ताहरू व्यक्त भइरहेका छन्।
तस्बिर स्रोत, Reuters
कतिपय खोपलाई माइनस ८० डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ। त्यसैले रेफ्रिजरेटरको क्षमताबारे पनि त्यस्तै कुराहरू भइरहेका छन्।
प्राध्यापक शाह यूकेमा मात्र मानिसहरूलाई खोप लगाउन वार्षिक रुघाखोकीका चलाइने खोप अभियानभन्दा १० गुणा तीव्र अभियान चलाउनु पर्ने अनुमान गर्छन्।
त्यसका लागि कम्तीमा ३० हजार पूर्ण दक्ष स्वास्थ्यकर्मीले २४ घण्टा काम गर्नुपर्ने आवश्यकता हुन्छ।
उनी भन्छन्, "मलाई के चिन्ता छ भने के पूरा प्रणालीले पर्याप्त सोचिहरेको छ?
प्रारम्भिक परीक्षणहरूले खोपहरूले मानव प्रतिरक्षा प्रणालीलाई उत्प्रेरित गरिरहेको देखाएका छन् तर यसले कोभिड-१९ बाट पूर्ण सुरक्षा दिने प्रमाणित भइसकेको छैन।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
अनुत्तरित प्रश्नहरू
इम्पेरियल कलेजकै इम्युनोलोजी विभागका अध्यक्ष प्राध्यापक चार्ल्स बाङ्गम भन्छन्, "हामीलाई वास्तवमै थाहा छैन कि एउटा प्रभावकारी खोप कहिलेदेखि उपलब्ध हुन्छ। त्यो कति प्रभावकारी हुन्छ र महत्त्वपूर्ण प्रश्न भनेको कति चाँडै त्यसलाई वितरण गर्न सकिन्छ?"
"यदि त्यो प्रभावकारी भयो भने पनि हामी पूर्ण रूपमा सामान्य जीवनमा फर्कन सक्छौँ भन्ने छैन। हामीले विस्तारै अन्य कुराहरूलाई सामान्य बनाउँदै लानुपर्छ।"
अझै खोप अभियान रणनीतिलाई प्रभावित गर्ने कैयौँ प्रश्नहरू अनुत्तरित नै छन्।
अनुसन्धानकर्ताहरूले खोप लगाएपछि त्यसले लामो समयसम्म प्रतिरक्षा गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै समय लाग्छ।
केही वर्षको अन्तरालमा हामीले खोप लगाइरहनु पो पर्ने हो कि भन्ने बारेमा पनि हामीलाई अझै थाहा छैन?
युनिभर्सिटी अफ बाथका डा. एन्ड्र्यु प्रिस्टन भन्छन्, "खोपलाई स्पष्टरूपमा रामबाणका रूपमा चित्रित गरिएको छ र अन्तत: त्यसले हामीलाई उद्धार गर्छ भन्ने ठानिएको छ तर यो तत्कालको प्रक्रिया नहुनसक्छ।"
उनी देशमा भित्रनेका लागि "खोप राहदानी"को व्यवस्था पो गर्नुपर्छ कि भन्ने छलफल हुनुपर्ने बताउँछन्।