अर्बौं डलर लगानी गर्ने चिनियाँ वाचा

तस्बिर स्रोत, Getty Images
चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व विकासको आफ्नो अवधारणाका लागि अर्बौं डलर पूर्वाधारमा लगानी गर्ने बताएका छन्।
विश्वका २० भन्दा बढी नेता उपस्थित 'बेल्ट एण्ड रोड' सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै उनले आफ्ना प्राथामिकताहरु सार्वजनिक गरे।
उक्त योजना अन्तर्गत प्राचिन रेशम मार्गमा पर्ने क्षेत्रहरुमा ठूलो लगानी गरी चीनलाई एसिया, युरोप र अफ्रिकासँग जोड्ने बन्दरगाह, सडक र रेल सञ्जाल निर्माण गरिनेछ।
जापान र भारतले उक्त अवधारणाले चीनको सामरिक एवं भूराजनीतिक प्रभाव विस्तार गर्ने लक्ष्य राखेको भन्दै उक्त सम्मेलनमा सहभागिता नजनाउने निर्णय गरेका छन्।
लाभ
राष्ट्रपति सीले 'बेल्ट एण्ड रोड' लाई सबैको फाइदा हुने गरी चीनले ल्याएको अवधारणाको रुपमा प्रस्तुत गरेका छन्।
तस्बिर स्रोत, AFP
चीनले पूर्वाधार निर्माण गरिदिने उक्त अवधारणाले व्यापार वृद्धि गर्ने र समृद्धिको ढोका खोल्ने बेइजिङमा उपस्थित विश्व नेता तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिलाई राष्ट्रपति सीले सुनाए।
चिनियाँ राष्ट्रपति आपसी सहअस्तित्व स्वीकार गर्ने एउटा ठूलो परिवार भन्दै अर्बौं डलर ऋण तथा लगानी उपलब्ध गराउने वाचा गरिरहँदा पहिलो लहरमा बसिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेजेप तायप एर्दोआनले थपडी बजाएर स्वागत गरेका थिए।
तर चीनको छिमेकी रहेका जापान र भारतले सो सम्मेलन बहिष्कार गरिरहेका छन्।
तस्बिर स्रोत, AFP
उनीहरुले विकास सम्बन्धी चिनियाँ अवधारणाले सामरिक एवं भूराजनीतिक प्रभाव विस्तार गर्ने उद्देश्य राखेको आशंका गरेका छन्।
सहकार्य
कतिपय अर्थविदहरुले राजनीतिक अस्थिरता रहेका र कमजोर शासन प्रणाली भएका क्षेत्रहरुमा चीनले वाचा गरेका परियोजनाहरुको कार्यान्वयन जटिल हुनसक्ने टिप्पणी गरेका छन्।
तर आफ्नो सम्बोधनमा राष्ट्रपति सीले त्यस्ता शंकाहरुलाई बेवास्ता गरिदिएका छन्।
उनले सबैलाई लाभ हुने गरी सहकार्य गर्न सकिने नयाँ अवधारणा चीनले ल्याएको बताए।
संयुक्त राज्य अमेरिका र युरोपेली संघ जस्ता आर्थिक शक्तिहरु आन्तरिक समस्याहरुमा फसिरहँदा चीनले नेतृत्व लिने उद्देश्यसाथ पछिल्लो अवधारणा ल्याएको हो।